विराटनगर । भारतमा लगेर सेक्युरिटी गार्डको जागिर लगाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल हुन् ।
उनले विभिन्न व्यक्तिमाथि ठगी गरिरहेको खुलेको प्रहरीले जनाएको छ । ठगीमा परेको भन्दै अर्यालविरुद्ध उदयपुरको त्रियुगा नगरपालिका–८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारले मोरङ प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
मोरङ प्रहरीका अनुसार अर्यालले उमेशकुमार र प्रेमकुमारबाट पटक–पटक गरेर एक लाख ७३ हजार रूपैयाँ लगिसकेको खुलेको छ । ठगी गरेको उजुरीका आधारमा अर्याललाई विराटनगर –१० बसपार्कबाट पक्राउ गरिएको जनाइएको छ ।
मोरङ प्रहरीले ठगीमा परेका अरु सर्वसाधारणलाई पनि प्रहरीको सम्पर्कमा आएर अर्यालविरुद्ध कारबाहीका लागि सहयोग गर्न आग्रह गरेका छन् ।प्रहरीका अनुसार अर्यालयविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइएको छ ।