धरानमा डेङ्गु सङ्क्रमणबाट ९ वर्षीय बालकको मृत्यु

न्युजलय ३१ साउन २०८०, बुधबार ०२:५२ मा प्रकाशित

धरान । धरानमा डेङ्गु सङ्क्रमणबाट धरान–१६ का ९ वर्षीय बालकको मृत्यु भएको छ । उनलाई उपचारका लागि बिग हस्पिटल विराटनगर पुर्‍याइएको थियो ।

बालकलाई हस्पिटलले सोमबार दिउँसो नै मृत्यु भएको घोषणा गरेको थियो । २ दिन अघि ज्वरो आएको बालकलाई ज्वरोले अझ बढी च्याप्पे पछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

बिपीमा सघन उपचारको लागि आइसियु कक्ष खाली नभएको बताइएपछि विराटनगर स्थित बिग हस्पिटल रिफर गरेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

बालकको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा ढिलाइ भएको धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराईले बताए । 

यसअघि केही दिन अगाडी धरान–११को १० बर्षिया बालिकाको मृत्यु भएको थियो । यो समेत धरानमा महामारीको रूपमा फैलिएको डेङ्गुले मृत्यु हुने बालबालिकाको सङ्ख्या दुई पुगेको छ । 

धरानमा मंगलबार सम्म स्वास्थ्य केन्द्रहरूमा बिरामीको सङ्ख्या बढेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाको असार १० गते देखि हाल साउन ३० गते सम्मको तथ्याङ्क अनुसार धरानमा हाल सम्म १५ हजार ८१० जनाले डेङ्गु टेस्ट गरेका छन् । ११ हजार ३ सय ७३ जना डेङ्गु सङ्क्रमित पाइएका छन् ।

धरानमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ११ जना पुगेको छ ।