इटहरी । विहानै ९ बजेदेखि बसेको अहिलेसम्म पाएको छैन । यत्रो भिँड छ । पाए पनि ५ किलो १० किलो पाउँछ ।’ यो गुनासो हो इनरुवामा रहेको सुनसरीको इनरुवामा रहेको सहकारी संस्था लिमिटेडमा रसायनीक मल लिन आएका किसान गणेशकुमार मेहेताको ।
मेहेता जस्तै यो सहकारीमा अहिले मल लिनकै लागि कृषकहरु विहान सवेरै देखि लाम लागेर बस्ने गरेका छन् । दिनभर बस्दा पनि १० केजी मलमा चित्तबुझाउनु पर्दा उनिहरु पनि मेहेताको जस्तै गुनासो सुनाउँछन् । अहिले धनाबाली थन्क्याएर गहूँ बाली लगाउने ‘सजन’ हो । सोहि कारण किसानहरु मलको खोजिमा यहाँ आएका हुन् ।
इनरुवा क्षेत्रका किसानले प्रति परिवार ४ विघासम्म गहूँ खेति गर्ने गरेका छन् । प्रति विघा ४ देखि ५ बोरासम्म रसायनीक मलको आवाश्यक पर्ने मेहेता बताउँछन् । सहकारीले दिने १० किलो मलले आफूहरुलाई अपर्याप्त भएको उनको गुनासो छ ।
‘त्यति मलले कहाँ पुग्छर पुग्दैन नि । एक विघामा नै ४/५ बोरा लाग्छ । अनि कहाँ पुग्छ ५ किलो १० किलो ले ?’, मेहेताले भने, ‘त्यो ५ किलो १० किलो लिनलाई पनि झगडा गर्नुपर्ने भएको छ । पाइँदैन त के गर्ने ?’
मेहेतको जस्तै गुनासको छ विहान ६ बजेदेखि मल लिनलाई सहकारी बाहिर लाइन बसेका ७० वर्षीय किसान पर्शुराम चौधरीको पनि । ‘विहान ६÷७ बजेदेखि लाइनमा छौँ हामी । मलै छैन’, चौधरीले भने, ‘१० किलो दिन्छ । हामी कति दिन आएर ४ विघाको लागि मल लाने रु यसले हामीलाई धेरै मार परिहेको छ ।’ प्राकृतिक प्रकोपको मार खेपेको दुखेसो भुल्न नपाउँदै मलको हाहाकार भोग्नु परेको उनको गुनासो छ ।
यता संस्थाका व्यवस्थापक कुमारप्रसाद रेग्मीले सरकारले आवश्यक मल खरिद गर्न नसक्दा वितरणमा समस्यमा देखिएको बताएका छन् । उनले सरकारले आवश्यक मात्रामा मल आयात गरे आफूहरु किसानलाई आवश्यक मात्रामा मल दिन प्रतिवद्ध रहेको बताए ।
‘यो सरकारको कुरा हो । सरकारबाट आउने हो । हामी केहि गर्न सक्दैनौँ’, व्यवस्थापक रेग्मीले भने, ‘सरकारले दियो भने हामी बेच्ने हो । उहाँहरुले दिनुभएन भने हामी के गर्ने, कहाँबाट ल्याएर दिने ?’ उनले किसानको समस्याको सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङमा आफूहरुले पहल जारी राखेको बताए । दुबै ठाउँमा नै मलको अभाव रहेकाले आवश्यक मात्रामा मल उपलब्ध गराउन असक्षम रहेको उनि बताउँछन् ।