तुलसी सहकारी विराटनगरका सञ्चालकसहित तीन जना जेल चलान

न्युजलय २५ चैत २०७९, शनिवार ०८:०३ मा प्रकाशित

विराटनगर । विराटनगरको तुलसी सहकारीका सञ्चालकसहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।

मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालशले प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पक्राउ परेका तीन जना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकहरू विरुद्ध ठगी मुद्दा दायर गरेको थियो ।

फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगी मुद्दा दायर गरिएको थियो ।  

सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ ।