कालिञ्चोकमा हिमपातले विद्युत् र मोबाइल सेवा अवरुद्ध

न्युजलय १६ पुस २०७८, शुक्रबार ०८:१६ मा प्रकाशित

दोलखा । हिमपातका कारण जिल्लाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोकमा तीन दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध भएको छ । मंगलबार रातिबाट भएको हिमपातका कारण विद्युत् सेवा अवरुद्ध बनेको हो ।


विद्युत् सेवा ठप्प हुँदा नेपाल टेलिकम र एनसेल दुवै सेवा प्रदायकको मोबाइल सेवा पनि अवरुद्ध बनेको छ । टेलिफोन टावरमा विद्युत् सेवा सञ्चालन नभएकोले मोबाइल सेवा बन्द भएको नेपाल दूरसञ्चार प्राधिकरणका शाखा प्रमुख राजु गिरीले बताए ।


हिमपातपछि कालिञ्चोकमा रहेको विद्युत् ट्रान्सफर्मर हिउँले पुरिएको छ । जसका कारण सेवा ठप्प भएको विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताए ।


विद्युत् अवरुद्ध भएपछि कालिञ्चोकका होटल व्यवसायीलाई जेनेरेटर चलाउन डिजेल र पेट्रोल किन्नको चटारो छ । अंग्रेजी नयाँ वर्षका लागि कोठा बुकिङ भइसकेकोले सेवा दिनका लागि धेरै व्यवसायी इन्धन लिन चरिकोट पुगेका व्यवसायी हरि ओली बताउँछन् । 


३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको कालिञ्चोकमा केबलकार पनि जेनेरेटरबाट सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले भने कालिञ्चोक आउजाउ गर्दा सतर्कता अपनाउन भनेको छ ।