बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा उक्लियो

न्युजलय २८ फाल्गुण २०७८, शनिवार ०१:०९ मा प्रकाशित

एजेन्सी । बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

गएराती १० खेलाडीमा समेटिएको घरेलु टोली एट्लेटिकोले क्याडिजलाई २–१ गोल अन्तरमा हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जोआओ फेलिक्स र रोड्रिगो डि पउलले गोल गरे। क्याडिजका अल्भारो नेग्रेडोले एक गोल फर्काए पनि हार टार्न सकेनन्।

जितसँगै तेस्रो स्थानमा उक्लिएको एट्लेटिको म्याड्रिडको २८ खेलबाट ५१ अंक पुगेको छ। एट्लेटिकोले दुई खेल कम खेलेको बार्सिलोनालाई ३ अंकले पछि पारेको हो।

दोस्रो स्थानमा रहेको सेभिया एथ्लेटिको भन्दा ४ अंकले अघि छ। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ६३ अंक छ। यता एथ्लेटिकोसँग  पराजित क्याडिज २४ अंक जोडेर १८औं स्थानमा छ।