रामधुनी मन्दिर आउने सडक बिग्रिदा तीर्थयात्री र स्थानीयलाई सास्ती

न्युजलय १५ भदौ २०८०, शुक्रबार ०२:५५ मा प्रकाशित

 सुनसरी ।  धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडक बिग्रिदा तीर्थयात्री र स्थानीय यात्रुलाई समस्या भएको छ । 

झुम्का नहरदेखि रामधुनी मन्दिरसम्मको सडक खाल्डाखुल्डी परेर बिग्रिदैगएको छ । रामधुनी मन्दिरदेखि झुम्का नहरसम्म साना–ठुला गरी एकसय २५ भन्दा बढी सडकमा खाल्डाखुल्डी परेका छन् । सम्बन्धित निकायले बाटो मर्मत नगर्दा बाटो बिग्रिँदै गएको हो ।

तीन महिनादेखि सडक बिग्रिदा समेत स्थानीय सरकार रामधुनी नगरपालिकाले मर्मतमा चासो नदिँदा दिनदिनै बाटो बिग्रँदै गएको छ । 

प्रकाशपुर, राजावास, सालवनी, इकाईका स्थानीयलाई पूर्व–पश्चिम राजमार्गको झुम्कासँग जोड्ने छोटो दूरीको सडक मर्मत नहुँदा तीर्थयात्री र स्थानीयलाई समस्या हुनेगरेको स्थानीयले बताएका छन् ।

हिन्दु धर्मावलम्बीको पौराणिक भनाइअनुसार त्रेतायुगमा श्री रामचन्द्र यस तपोवनको पूण्यस्थलमा वनवासको क्रममा धुनी लगाएर एक रात बास बसेको र बसेको स्थान छाडी हिँड्दा आफ्ना पाउका एक जोर खराऊ छाडि गएको भन्ने कथन छ । 

सुनसरीको रामधुनी नगरपालिका –४ रहेको मन्दिर वराहक्षेत्र नगरको वडा ८, ९,  १०, भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १ र इनरुवा नगरपालिकाको वडा ८ को ३ हजार २ सय बिघा क्षेत्रफलमा फैलिएको रामधुनी वनको बीच भागमा रामधुनी मन्दिर अवस्थित छ ।