३० बोट सुन्तलाबाट वार्षीक २ लाखसम्म आमदानी

शंकर खत्री ३ पुस २०७८, शनिवार ०८:०५ मा प्रकाशित

इटहरी । संखुवासभाको चैनपूर नगरपालिका वडा नम्बर ८ कि दिलकुमारी श्रेष्ठको पेसा कृषि हो । उनको घर ८ नम्बर वडामा रहेको वानेश्वर मन्दिरबाट करिब २ सय मिटर दुरी पुरा गरेपछि पुगिन्छ । कोशी राजमार्ग अन्तर्गतको चैनपुर–खाँदबारी सडकबाट दुई कान्ला (दुइ खेतबिचको अग्लो भूभाग) उक्लिएपछि उनको करेसाबारी पुगिन्छ । त्यहाँ उनले झण्डै १० वर्ष पहिला लगाएको सुन्तला लटरम्मै फलेका छन् । 


यो सिजन नै सुन्तला फल्ने भएको त्यो सडकबाट ओहोरदोहार गर्नेको मन उनको सुन्तलामा मोडिन्छ । एकैछिन सवारीसाधन किनारा लगाएर मानिसहरु उनको घरतर्फ लाग्छन् अनि बारीमा नै फलेको ताजा सुन्तला खाएर÷लिएर फर्कन्छन् । झैण्डै ६ दशक पार गरेकी उनलाई यहि सुन्तलाले वार्षीक २ लाख सम्म आमदानी हुने गरेको छ ।


‘यो रोडबाट आउने जानेहरु यहाँ आउँछन्, सुन्तला किन्छन् ।’ उनले भनिन्, ‘कोहि यहिँ बसेर खान्छन् । कोहि लिएर जान्छन् ।’ त्यहाँ ३० बोट सुन्तला छन् । दिलकुमारीको गाउँमा अझै पनि गोटा गन्तिले सुन्तलाको कोरोबार हुन्छन् । तराइ तथा सहरमा बस्नेहरुलाई यो नौलो लाग्न सक्छ । तर, पहाडका धरै ठाउँमा यसरी नै अन्य चिजविजको पनि कारोबार हुने गर्छ । सुन्तला किन्न आउने मानिसहरु पहिला उनिसँग दाम (मूल्य) सोध्छन् । बजारकै भाउमा ताजा सुन्तला किन्न पाएपछि धेरै प्रफूल्लित हुन्छन् । ‘एक सयको ६ दाना दिन्छु । कोहि बजारमा पनि यति नै पर्छ त घरमा अलि कममा दिनुन भन्छन्’, उनले भनिन्, ‘कोहि चाहिँ आहा १ बोटमा नै खान पाइयो भनेर रमाउँछन् ।’ 


अघिल्ला वर्षहरुमा दुई लाख भन्दा बढीको सुन्तला बिक्रि गरेकी दिलकुमारी यो वर्ष भने त्यो मात्रामा कमि हुने बताउँछिन् । ‘पोहोर साल त झण्डै अढाइ (साढे दुई)लाखको सुन्तला भएको थियो । तर यो वर्ष त्यत्रो हुँदैन होला’, उनले भनिन्, ‘अहिले पोहोरको जस्तो सुन्तला फलेको छैन । फलेको पनि राम्रो छैन ।’ सुन्तलाको बोट तिर देखाउँदै उनले थपिन्, ‘त्यो बोटमा पोहोर कति ठूला–ठूला फलेका थिए अहिले साना छन् । तर पनि दुई लाखसम्म हुन्छ कि भन्ने आस छ ।’


उनको घरबाट नजिकै दुई वटा हाटबजार छन् । संखुवासभाको पुरानो सदरमुकाम समेत रहेको चैनपूरमा शुक्रबार लाग्ने शुक्रबारे हाटबजार र सोहि नगरपालिकाको वडा नम्बर १० मा रहेको खराङ बजार उनको घरबाट नजिकै छन् । यी दुई बजारमा लगेर बिक्रि गर्नुका साथै उनले घरैबाट समेत सुन्तला बिक्रि गर्दै आएकी छिन् । कतिपयले चाहिँ उनको घरबाट होलसेल मूल्यमा खरिद गरेर पनि हाटबजारसम्म लगेर बेच्दै आएका छन् । ‘बिक्रि नहुने त कुरै छैन । कतिले यहिँ आएर लान्छन्’, उनले भनिन्, ‘चैनपुरमा पनि लगिन्छ, खराङ पनि लगिन्छ । जति फले पनि बिक्दैन कि भने डर मान्नु परेको छैन ।’ अझै सुन्तलाको बेर्न थप्दै जाने योजना रहको उनले बताइन् ।