पालो नआएको भन्दै माओवादी सांसदले दिए राजिनामाको धम्की

न्युजलय २४ असार २०८०, आइतबार ०६:४८ मा प्रकाशित

इटहरी । एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि नेपाली काँग्रेस नेतृत्वमा प्रदेश सरकार बन्ने क्रममा छ । मुख्यमन्त्री उद्धव थापाले तीन जना मन्त्रीलाई सपथ ग्रहण गराइसकेका छन् ।

तीमध्ये माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् ।


यसैबिचमा अन्तीम समयमा आएर नाम हटाइएपछि माओवादी केन्द्रका एक जना सांसदले राजिनामा दिने धम्की दिएका छन् । दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।


शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले बुर्जा मगर र आचार्यलाई सरकारमा पठाउने सहमति गरेपनि पछि उनको नाम काटिएपछि उनी रुष्ठ बनेका हुन् । 


उनले आफू र आफूलाई मतदान गर्ने मतदातामाथि बारम्बार अन्याय भएको बताए । उनले आफूले प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाएको बताए । उनले भने, ‘आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासंग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाई सकेको छु।’


उनी उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश (१) बाट निर्वाचित माओवादी सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि मगर सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।


माओवादी केन्द्र अध्यक्ष प्रचण्डका ज्वाई जीवन आचार्य लगातार दोस्रो पटक मन्त्री बनेका छन् । यसैपटकको प्रदेश सभा निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट पाएर चुनाव जितेका उनी एमाले नेतृत्वको मन्त्रीमण्डलमा पर्यटन मन्त्री थिए । यो पटक अर्थमन्त्री बनेका हुन् । कसैलाई भने लगातार मन्त्री बनाउने र कसैलाई भने लामो समय वेवास्ता गरिएको भन्दै माओवादी केन्द्रभित्र असन्तुष्टी चुलिँदै गएको छ ।