ताप्लेजुङ । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
शुक्रबार ताप्लेजुङको सिरिजंगा गाउँपालिक–३ बोखिमस्थित भित्री सडक खण्डमा गोलिया बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। दुर्घटनामा परेर अन्य दुई जना गम्भीर घाइते भएका छन्।
सिरिजङ्गा गाउँपालिका ३ बस्ने २५ वर्षीय वसन्त लिम्बु र फुङलादिनका १५ वर्षीय समिर लिम्बुको दुर्घटनामा परेर मृत्यु भएको हो।
गम्भीर प्रकृतिका घाइते बसन्तलाई तत्काल माउण्टेन एयरको हेलिकप्टरबाट उद्धार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। समिरको तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
मे १ त ६८९३ नम्बरको ट्याक्टर अचानक सडक छोडेर २०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा अमित लिम्बु र सुसन लिम्बु गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ।