बैंकले फिर्ता गर्न थाले जथाभावी असुलेको ब्याज

न्युजलय २३ कार्तिक २०७९, बुधबार ०१:२२ मा प्रकाशित

काठमाडौ । नियमविपरीत बैंकहरुले असुल गरेको ब्याज फिर्ता गर्न थालेका छन् । जथाभावी प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार हालसम्म ११ वाणिज्य बैङ्कलाई १ अर्ब ८५ करोड रुपियाँ फिर्ता गर्न निर्देशन दिइसकिएको छ । नियमविपरीत ब्याजको प्रिमियम बढाएर लिएको रकम फिर्ता नगरे कारबाही गर्ने स्पष्ट निर्देशन दिएकाले पनि बैङ्कहरूले फिर्ता प्रक्रिया सुरु गरेका हुन् । प्रिमियमबापतको ब्याज फिर्ता गर्नुपर्ने बैङ्कहरूको नाम भने राष्ट्र बैङ्कले सार्वजनिक गरेको छैन ।