प्रतिबोरा ९ सय रुपैयाँले घट्यो मैदाको मूल्य

न्युजलय २७ फाल्गुण २०७९, शनिवार ०८:५२ मा प्रकाशित

काठमाडौं । मैदाको मूल्य प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ । रुस–युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको मूल्यमा सुधार हुँदै गएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा (५० किलो) पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ । संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो । 

नेपाललाई भारतले गहुँ आयातका लागि अनुमति दिएसँगै बजारमा गहुँको मूल्य ओरालो लागेको संघले जनाएको छ । मैदाको मूल्य घट्नुको फाइदा खाद्यान्न उपजमा पर्ने अधिकारी बताउँछन् ।

यस बीचमा बिस्कुट र चाउचाउको मूल्यमा उच्च वृद्धि भएको र अब मैदाको मूल्य घट्दाको फाइदा यी उत्पादनमा पर्ने उनले बताए । सरकारले भारतसंग माग गरेको ५० हजार मेट्रिकटन गहुँ उद्योगी व्यवसायीहरुले आयात गर्न थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।