भारतमा दिमाग खाने अमिबाबाट मृत्यु हुनेको संख्या दोब्बर

न्युजलय २ असोज २०८२, बिहिबार ०४:४३ मा प्रकाशित

नयाँदिल्ली । भारतको दक्षिणी राज्य केरलामा पानीजन्य दुर्लभ रोग ‘ब्रेन इटिङ अमिबा’ को संक्रमण तीव्र रूपमा बढेको छ । यस वर्ष संक्रमित र मृत्यु हुनेको संख्या दोब्बर पुगेपछि सतर्कता अपनाइएको छ।


राज्यभर संक्रमण पत्ता लगाउन र संक्रमितको उपचारका लागि व्यापक परीक्षण र निगरानी भइरहेको छ। अहिलेसम्म ७२ जनामा संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भइसकेको छ। 


यस अमिबालाई ‘मस्तिष्क खाने’ भनिन्छ किनभने यो दिमागमा प्रवेश गरी स्नायु तन्तु नष्ट गर्छ। एकपटक मस्तिष्कमा पुगेपछि मृत्यु दर ९५ प्रतिशतभन्दा बढी हुन्छ। यद्यपि संक्रमण अत्यन्तै दुर्लभ हुने भए पनि प्रायः प्राणघातक हुन्छ।


यो अमिबा प्रायः तातो ताल, पोखरी र नदीमा पाइन्छ र नाकमार्फत शरीरमा प्रवेश गर्छ। तर यस रोग व्यक्तिबाट व्यक्तिमा सिधै सर्दैन।


विश्व स्वास्थ्य संगठनले यस रोगका लक्षणमा टाउको दुखाइ, ज्वरो, वाकवाकी, मानसिक असन्तुलन, मतिभ्रम र कोमा समावेश हुने बताएको छ।