रतुवामाईबाट २१ क्वीन्टल चिनी बरामद

न्युजलय २९ मङ्सिर २०७८, बुधबार १२:३४ मा प्रकाशित

विराटनगर । मोरङको रतुवामाई–१० बाट प्रहरीले तस्करीको २१ क्वीन्टल चिनी बरामद गरेको छ । 

भारतबाट नेपाल प्रवेश गरेको मे १ च ५६७० नम्बरको पिकअप भेनमा भन्सार छली गरेर भित्र्याइएको चिनी मंगलबार बरामद गरिएको प्रहरीले जनाएको छ ।

जुटको बोरामा राखेर भेनमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा ५० किलो दरका ४२ बोरा चिनी बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । 

शंकास्पद अवस्थाको भेन नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिणाममा तस्करीको चिनी फेला परेको उनको भनाइ छ । 

चिनी भेटिएपछि प्रहरीले चिनीसहित भेन, भेनका चालक झापाको दमक–७ का ३२ वर्षीय दिनेशकुमार श्रेष्ठ र चिनी धनी रतुवामाई–५ का ४५ वर्षीय धु्रवकुमार शिवाकोटीलाई नियन्त्रणमा लिएको छ ।

बरामद भएको चिनी, चालक र धनीलाई आवश्यक कारबाहीका लागि बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।