इटहरी । कोशी टप्पु बन्यजन्तु आरक्ष चराहरुको राजधनी हो ।
कुल १७५ वर्ग किलोमिटरमा फैलिएको यो आरक्षले प्रदेश १ को सुनसरी र उदयपुर तथा प्रदेश २ को सप्तरी जिल्लाका भूभागलाई समेट्छ । यहाँ विभिन्न समयमा भारत तथा साइबेरीयबाट चराहरु बसाईसराई गरि आउँछन् ।
यसलाई चराको स्वर्ग उपामालेपनि चिनिन्छ । यसका अलबामा यो आरक्ष हात्ती र अर्नाका लागि पनि प्रख्यात छ । यो आरक्षमा स्थापनाकाल देखि नै यहाँ चराका विषयमा खोज अनुसन्धन तथा चरा गणना हुँदै आएको छ । प्रत्येक वर्ष यसै समयमा यहाँ हप्तौँ लगाएर चरा गणना गरिन्छ । त्यसै कारण यहाँ चराको संख्या कति छ ?
गत वर्षको तुलनामा कति चरा बढे वा घटे ? नयाँ प्रजातीका चराहरु कति आए ? र कुन कुन ठाउँबाट चराहरु कोशी आए भनेर तथ्यहरु संकलन गरिन्छ । तिनै तथ्याङ्कको आधारमा कोशीमा अहिले चराको संख्या घट्दै गएको पाइएको छ । सन् २००५ ताका कोशी टप्पुमा मात्रै ५० हजारको हाराहारीमा चराको गणना हुने गथ्र्यो ।
त्यो संख्यामा चराहरु यहाँ बस्ने गरेको तथ्याङकले देखाउँछ । अहिले त्यो संख्या ९० प्रतिशत्सम्म कम भएको नेपाल पंक्षि संघकी प्रमुख कार्यकारी निर्देशक इशाना थापाले जानकारी दिइन्। ‘कोशी टप्पुको विषयमा कुरा गर्ने हो भने २००५ तिर एकै दिनमा ५० हजार चरा एकै दिनमा गणना हुने गरेको थियो’, सिइओ थापाले भनिन्, ‘अहिले
नेपाल भरिका ६० स्थानमा गणना गर्दा पनि ५० हजार पुर्याउन गाह्रो हुन्छ । कोशीमा त ५ हजार पनि पुर्याउन गाह्रो छ ।
चरालाई आवश्यक वास्थानको अभाव
कोशीमा चरालाई आवश्यक बासस्थान भएकै कारण चराको स्वर्ग भनिएको हो । सोहि कारण भारत तथा साइबेरीया क्षेत्रबाट पनि चराहरु यहाँ आउने गरेका हुन् । तर पछिल्लो समय चराको बासस्थानको अभावको अभाव खड्किएको चरा संरक्षणमा लाग्नेहरु बताउँछन्।
‘अहिले कोशीमा बनमा पाइने चराको आवस्था पनि घटेकै छ । सिमसारमा पाइने चराको संख्या पनि घट्दै गएको छ’, पंक्षि संघ कि सिइओ थापाले भनिन्, ‘बन विनास भइरहेको छ । चराको लागि आवश्यक पर्ने स्थीर पानीको क्षेत्रफल पनि घट्दो छ ।’
कोशीमा बासस्थानको घटेकै कारण चराको संख्या घट्दै गएको संदर्भ सबैलाई जानकारी भए पनि कुनै निकायले चसो नदेखाएको कोशी पक्षिं समाज सुनसरीका अध्यक्ष संजिव आचार्यले जानकारी दिए । ‘कोशी टप्पुमा प्रमुख समस्या भनेको बासस्थान विनास हो’, अध्यक्ष आचार्यले भने, ‘राज्यको कुनै निकाले गर्न चाहे यहाँ गर्न सकिन्छ । माथिबाट गर्न नचाहेको हो कि तलबाट पहल गर्न नसकीएको हो ।’ बासस्थानको व्यवस्थापन गर्न सके चराको संख्या वृद्धि हुनेमा उनि विश्वस्त छन्। त्यसैले बासस्थान संरक्षणमा सबै लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘बासस्थानलाई पुर्नःस्थापन गर्न सके चराको संख्या बढ्ने निश्चित छ’, उनले भने, ‘किन भने बर्जु ताल पहिला सानो थियो त्यहाँ चराको संख्या पनि कम नै थियो । अहिले बर्जुको ताल ठूलो भएको छ त्यहाँ चराको संख्या पनि बढी रहेको छ । तर हालसालै त्यहाँ भौतिक संरचना बनाउन तालको पनि सुकाइएको छ, त्यहाँका चरा पनि अन्यत्र सर्दैछन् ।’
चराहरु आफू बस्ने उचित बासस्थान देखे वसाई सराई गर्ने गरेको उनि सुनाउँछन्। यदि बासस्थान नपाए चराहरु आउनै छोड्ने उनले जानकारी दिए ।
चराहरु बासस्थानको खोजीमा भारत पलायन
कोशी टप्पुमा उचित बासस्थान नहुँदा चराहरु भारत पलायन हुन थालेका छन्। यति मात्रै होइन कोशी कै रैथाने चराहरु पनि यहाँबाट पलायन हुन थालेका छन्। भारतमा चराका लागि उपयुक्त बासस्थान
बढ्दै गएको र कोशीमा चराका लागि आवश्यक बासस्थानको अभाव हुँदा चरा पालायन भएका कोशी पक्षिं समाजका अध्यक्ष आचार्यले जानकारी दिए । ‘बसाइसराई गरेर आउने चराहरुले अहिले कोशीमा
बस्नको लागि उचित बासस्थान नदेखेर यहाँबाट दक्षिण भारत तर्फ पलायन हुन थालेका छन्’, अध्यक्ष आचार्यले भने, ‘नेपालमा उपयुक्त बासस्थान नदेखेकै कारण चराहरु भारत जाने क्रम बढेको हो । यदि
हामीले संरक्षण गरेर चराहरुलाई उपयुक्त बासस्थान बनाउन नसके चराहरु यो वर्ष नभए अर्को वर्ष अवस्य आउँछन् । नभए यहिँका रैथाने चरा पनि भारत जाने पक्का छ ।’
पर्यटकको संख्या घट्दो
कोशी टप्पुमा आन्तरीक तथा बाह्य पर्यटकको संख्या घट्दै गएको छ । चराको गन्तव्य भएकाले अधिकाशं पर्यटकहरु चरा हेर्नकैलागि यहाँ आउने गरेका छन्। चराको संख्या घट्दै जाँदा पर्यटकको संख्यामा पनि कमि आएको नेचर गाइड एसोसिएसन कोशी टप्पुका अध्यक्ष कुरबान मन्सुरीले जानकारी दिए । उनले आन्तरीक पर्यटक अर्ना र हात्ती हेर्नका लागि आउन भए पनि वाह्य पर्यटकको मुख्य उद्देश्य नै चरा हेर्न भएकाले चराको संख्या घट्दै जाँदा पर्यटकको संख्या पनि घट्दै गएको जानकारी दिए ।
‘कोरोनापछि आन्तरिक पर्यटक केहि मात्रामा आए पनि बाह्य पर्यटकको संख्या शून्य छ’, अध्यक्ष मन्सुरीले भने, ‘कोशी टप्पुमा बाह्य पर्यटक बर्ड वाचिङकै लागि आउने गरेका छन्। विगतको वर्षमा हजारौँको
संख्यामा बसाईसराई गरि चरा आउने गरेका थिए । अहिले त्यो संख्या घद्दो छ । त्यहि कारण यहाँ पर्यटकको संख्या घट्दै गएको छ ।’
पर्यटक आउन छाडेपछि नेचर गाइडको रोजिरोटी पनि जोखिममा पारेको उनले बताएका छन्। ‘बाह्य पर्यटक नआएपछि हाम्रो काम पनि जोखिममा परेको छ’, उनले भने, ‘आन्तरीक पर्यटकले गाइड नै
लिँदैनन्। गाइड चाहिने भनेको बाह्य पर्यटकलाई हो । अहिले उनिहरु आएका छैनन्। यसले हामीलाई समस्या परेको छ ।’
भौतिक विकासको प्रभाव
राज्यका तीन तहका सारकारले गरेको अन्दाधुन्द विकाशले पनि यहाँका चराहरुलाई प्रभाव परेको पाइएको छ । भौतिक विकास गर्दा चराहरुको बासस्थान मात्रै होइन्चराहरु निरन्तर ओहोरदोहोर गर्ने बाटो समेत विकाशले प्रभावित भएको पाइएको छ । ‘हाम्रो देश हाइड्रोपावर विकासमा तिव्र रुपमा अघि बढीरहेको छ ।
त्यो हाइड्रो पावरको ट्रास्मिसन लाइनले पनि चराको गन्तव्यमा प्रभाव परको छ’, सिइओ थापाले भनिन्, ‘नेपालमा विदशबाट आउने र नेपालमा नै रहेका ओहोरदोहोर गर्ने चराहरुको बाटोमा नै नाङगो तार कुदाइएको छ । चराहरु प्रायः एउटै बाटो भएर हिँड्ने गर्छ । उनिहरु हिँड्ने बाटोमा तार लैजाँदा त्यसमा ठोकिएर चरा मर्ने गरेका छन्। कोशीमा पनि दुई वटा ट्रान्समिसन लाइन छ यहाँ पनि चरालाई उच्च जोखिम छ ।’