इटहरीमा हिमालका कुरा

न्युजलय २० जेठ २०८३, बुधबार ०४:५५ मा प्रकाशित

इटहरी । इटहरीमा हिमाल आरोहणसम्बन्धि विभिन्न विषयमा चर्चा गरिएको छ । इटहरीका दुई सगरमाथा आरोहीहरु शिवकुमार डाँगी र मदन चुँडाल र इटहरीका हिमाल अध्येता प्राध्यापक अर्जुन उप्रेतिले आफ्नो अनुभव सुनाएका हुन् ।


“समथरदेखि सगरमाथासम्म” शीर्षकमा डाँगी र चुँडालसहितको प्यानल छलफल चलाउँदै उप्रेतीले समेत आफूले गरेको अध्ययन र अनुभव सुनाएका थिए । तीनै जनाले कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासामा जवाफ दिएका थिए ।


इटहरीबाट हिमाल आरोहण गर्ने दुई आरोहीहरुले कठिन परिस्थितीका बाबजुद हिमाल आरोहण गरेको सुनाउँदै हिमाल आरोहण निकै जोखिमपूर्ण रहेको बताएका थिए । उनीहरुले सरकारले हिमाल आरोहणलाई व्यवस्थित गर्नुपर्ने सुझाव पनि दिएका थिए । 


यस्तै भर्खरै सगरमाथा बेस क्याम्पसम्म पुगेर फर्केका र विभिन्न हिमालका आधार शिविरसम्म ट्रेकिङ अनुभव संगालेका उप्रेतीले हरेक नेपालीले एक पटक हिमाल पुग्नैपर्ने बताए । विभिन्न देशबाट वर्षेनी हजारौं मानिस नेपालका विभिन्न हिमाल हेर्न आउने गरेको तर नेपालीहरुले नै हिमाललाई महत्व नदिएको अनुभव गरेको बताउँदै उनले हिमाल आरोहण गर्न नसकेपनि हिमालको फेदीसम्म भएपनि पुग्नैपर्नेमा जोड दिएका थिए ।


संगीत साधना प्रतिष्ठान इटहरीले आयोजना गरेको कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव गौतमको उपस्थिति रहेको थियो भने कार्यक्रममा साँगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । साथै हिमाल आरोही र अध्येताहरुलाई सम्मानसमेत गरिएको थियो ।