गोरखा । गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ४ कारीगाउँका २३ वर्षीय निराजन नेपाल, ट्रकमा सवार दीपक परियार र दुई वर्षीया बालिका सपना गुरुङ रहेका छन् । नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको र बालिकाको भने उपचारको क्रममा मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए ।
दुर्घटनामा परी धार्चे गाउँपालिका ३, उहियाका आशमान गुरुङ, वडा नं. ५ की अस्मिता गुरुङ र शरणी गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये आशमानको अवस्था गम्भीर रहेको र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ ।
आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा५ख ६५६६ नम्वरको मिनिट्रक धार्चे गाउँपालिका ५ माछाखोला नजिकै सडकबाट करिब १०० मिटर खसेको प्रहरीले जनाएको छ ।