पाँचथर । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) पाँचथरले अफ्रिकासहित ओम्रिकन नामक नयाँ भेरिएन्टको संक्रमण देखिएका मुलुकहरूबाट आएका नागरिकलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।
ओम्रिकन भेरिएन्टका संक्रमित छिमेकी मुलुक भारतसहित नेपालमा पनि देखा पर्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अफ्रिका, बोल्सवाना, जिम्बाब्बे, लेसोयो, इस्वातिको, लगायतका मुलुकबाट फर्किएका नागरिकलाई मंसिर १९ गते मध्यरातदेखि जिल्ला प्रवेशमा रोक लगाएको हो ।
तीन महिनायता ती मुलुकबाट काम गरेर फर्किएकासँगै भ्रमण गरेर आएका नागरिकलाई पनि जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
बैठकले ओम्रिकनसहितका कोरोनाको जोखिम भएका मुलुकबाट फर्किएकाको अनिवार्य पीसीआर परीक्षण गर्ने र जिल्ला प्रवेश गर्ने सबै नागरिकको विवरण नाकाहरूमा राख्नुका साथै सबैखाले कार्यालय र संघ संस्थाले स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।