रानी–विराटनगर–इटहरी–धरान सडक योजना इटहरी कार्यालयमा तालाबन्दी

शंकर खत्री २७ मङ्सिर २०७८, सोमबार ०७:४९ मा प्रकाशित

इटहरी । आक्रोशीत स्थानीयले रानि–किमाथांका ६ लेन सडक परियोजनाको रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयमा तालाबन्दी गरेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्य चौकबाट उत्तर सङ्गीत चौक जाने बाटोमा आयोजनाले ह्युमपाइप माथि नै रातारात कालोपत्रे गरेपछि स्थानीयले विरोध जनाउँदै तालाबन्दी गरेका हुन् । 


आइतबार बेलूका सो ठाउँमा आयोजनाले कालोपत्रेको काम सुरु गरेको थियो । तर, त्यहाँका स्थानीयले गत जेठ महिनामा नै सो ठाउँमा ह्युमपाइपको विकल्पमा कल्भर्ट निर्माण गर्न सडक योजना र उपमहानरको ध्यानाकर्षण गराएका थिए । 


ह्युम पाइपले सो ठाउँमा डुबानको जोखिम बढाउने भन्दै स्थानीयले उपमहानगरमा डेलिगेन गएपछि २०७८ जेठ २८ गते सो कार्यालयलाई  ‘उपरोक्त सम्बन्धमा कोशीराजमार्ग इटहरी चौक उत्तर सङ्गीत चौक प्रवेश गर्ने स्थानमा ह्युपाइप लगाउने तयार भएकोमा उक्त स्थानमा इटहरी ४ र ६ नम्बर वडाका विभिन्न स्थानबाट बर्षातको समयमा पानी आइ जलमग्न हुने भएको हुँदा ह्युमपाइपबाट मात्रै पानी निकास नहुने भएको हुँदा उक्त स्थानमा कल्र्भट निर्माण गर्नका लागि स्थानीय कल्भर्ट निर्माण संघर्ष  समिति गठन भइ आएको हुँदा निवेदन माग बमोजिम उक्त कोशी राजमार्ग इटहरी चौक उत्तर सङ्गीत चौक जाने बाटोमो मुखमा ह्युमपाइपको सट्टामा कल्र्भट निर्माण हुने व्यवस्थाका लागि अनुरोध छ’ भन्ने व्यहोराको मेयर द्वारिकलाल चौधरीद्वारा हस्ताक्षरीत पत्र कार्यालयमा पठाइएको थियो । त्यसपछि सडक योजनाले त्यहाँ कल्र्भट निर्माण गर्ने जनाएको थियो ।


तर त्यो दिन देखि आइतबारसम्म सडक योजनाले कहिले वर्खा त कहिले चाडपर्वको वहाना देखाउँदै कामलाई अघि बढाएको थिएन । एकाएक आइतबार वेलुका माग अनुसारको काम नै नगरी कालोपत्रे गरेपछि आक्रोसित हुँदै स्थानीयले ठेकेदारलाई काम अगाडी बढाउन रोकेको स्थानीय राजु केसीले बताए । ‘उहाँहरुले आश्वासन दिँदा दिँदै काम नै गर्नु भएको थिएन’, केसीले भने, ‘दशैं तिहार भन्दा भन्दै हिजो (आइतबार) राति त उहाँहरुले पिच (कालोपत्रे) गर्न लाग्नुभएको थियो । यो किन गर्न लाग्नु भएको भनेर हामीले ठेकेदारलाई भन्यौँ । कार्यालय प्रमुख र इन्जीनियरलाई पनि बारम्बार कल्र्भट बनाउन हामीले फोन गर्दा पनि फोन नै उठ्दैन थ्यो ।’ 


उनले आफूहरुको मागलाई कुठाराघात गर्दै काम अगाडि बढाएको र कार्यालयमा आउँदा प्रमुख र इन्जिनियरलाई नभेटेपछि तालाबन्दी गरेको जानकारी दिए । ‘हामीले यो कुनै विकल्प नभेटे पछि कार्यालयमा तालाबन्दी गरेका हौँ’, उनले भने, ‘हामीलाई यहाँ ताला लागउन कुनै मन छैन् । यो हामी बाध्य भएर गर्दैछौँ । हामी मात्रै होइन नगरपालिकाबाट प्रतिनिधिहरु ल्याएर यहाँ ताला लगाएका हौँ ।’ उनले अब यो कार्यालयको कामबाट जनता आजित भए भन्ने विम्वित गर्न तालाबन्दी गरेको जानकारी दिए ।


अर्का स्थानीय ज्ञानेन्द्र दाहालले विगत ९ महिनादेखि कल्र्भट निर्माणका विषयमा जानकारी गराउँदा पनि सडक आयोजनाले आनाकानी गरेकाले तालाबन्दी गर्ने अवस्था सिर्जना भएको जानकारी दिए । ‘बास्तबमा हामीलाई सरकारी कार्यालयमा आएर ताला लगाउन रहर होइन’, दाहालले भने, ‘विगत ९ महिनादेखि हामीले उहाँहरुलाई जानकारी पनि गराइरहेका छौँ । घचघच्यायी पनि रहेका छौँ ।’ बर्खायाममा इटहरी बाढीको ठूलो वितण्ड सहनुपर्ने विषय सबैसामू जगजायर नै भए पनि कसैले यहाँको समस्याका विषयमा ख्याल नगरेको उनको भनाइ छ । अन्य ठाउँमा भन्दा ह्युमपाइप राखिएको क्षेत्र अर्थात् इटहरीको ४ नम्बर र ६ नम्बर क्षेत्रमा बाढीको बढी जोखिम हुने उनको भनाइ छ । त्यो पानीको ‘फ्लो’लाई सहजै पास गर्न कल्र्भट नै विकल्प भएको उनको भनाइ छ ।