इटहरी । इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको २ अर्ब ३५ करोडको बजेटको उपलब्धी बितेको ६ महिनामा खासै सन्तोषजनक छैन । न त सोचेजस्तो आम्दानी भएको छ, न त खर्च नै । तर पनि उपमहानगरपालिकाले शुक्रबारबाट सुरु भएको १४ औं नगरसभाबाट बजेटको आकार अझ बढाउन प्रस्ताव गरेको छ ।
उपमेयर संगीता चौधरीले पेश गरेको पुरक अनुमानित बजेटमा आन्तरिक स्रोत र प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशनको अनुमानित आय क्रमशः ३५ र ५५ प्रतिशत थप गर्ने प्रस्ताव गरिएको छ । जबकी ६ महिनाको उपलब्धी हेर्ने हो भने आन्तरिक स्रोततर्फ अनुमान गरिएको रकमको झण्डै २० प्रतिशत र रजिष्ट्रेसनतर्फ २४ प्रतिशत मात्र राजस्व संकलन गरिएको छ ।
त्यसो त हालसम्ममा उपमहानगरपालिकाको अनुमानित आम्दानीको ३३ प्रतिशत मात्र प्राप्त भएको छ । ७८ करोड ९४ लाख रुपैया उपमहानगरपालिकाको आम्दानी हो ।
चालु आर्थिक वर्षको बजेटअनुसार चालु खर्च १२.९ प्रतिशत छ भने पूँजिगत खर्च मात्र ८.९५ प्रतिशत छ । उपमहानगरपालिकाले चालु खर्चतर्फ १ अर्ब १३ करोड ३३ लाख रुपैया विनियोजन गरेकोमा ३० करोड ३० लाख रुपैया खर्च भएको छ । यसैगरी पूँजिगत खर्चतर्फ १ अर्ब २१ करोड ६६ लाख रुपैया छुट्याएकोमा २१ करोड ३ लाख रुपैया मात्र खर्च भएको छ ।
आम्दानी नै पनि बजेटको ३३ प्रतिशत मात्र प्राप्त भएको छ । इटहरी उपमहानगरपालिकाले मंसिर मसान्तसम्म ७८ करोड ९४ लाख रुपैया आम्दानी गरेको छ । यो अनुमानित बजेटको ३३ प्रतिशत मात्र हो । यस्तै चालु र पुँजीगत गरेर खर्च ५१ करोड ३४ लाख रुपैया छ, जुन २१.८ प्रतिशत हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को जम्मा पुँजीगत खर्च ५१.४६ प्रतिशत थियो । चालु र पुँजीगत गरेर कुल बजेटको ६०.४८ प्रतिशत खर्च भएको थियो ।
के मा कति थप्यो ?
सघन सहरी विकास कार्यक्रम र बसपार्क पुनर्निर्माणका लागि इटहरीले बजेट पाएपछि दुई शीर्षकमा बजेट बढाइएको उपमेयर चौधरीले जानकारी दिइन् ।
उपमहानगरपालिकाले प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशनबाट ३० करोड रुपैया आम्दानी गर्ने अनुमान गरेकोमा थप १६ करोड २५ लाख रुपैया आम्दानी गर्ने संशोधित लक्ष्यमा छ । ६ महिनाको अवधिमा उपमहानगरपालिकाले ७ करोड १९ लाख रुपैया आम्दानी गरेको छ ।
यस्तै आन्तरिक श्रोतबाट ६८ करोड १४ लाख रुपैया उठाउने महत्वकांक्षी योजनासमेत बनाएकोमा २४ करोड थप आम्दानी हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ । जबकी ६ महिनामा १३ करोड ३७ लाख रुपैया मात्र आम्दानी गर्न सकेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरले आन्तरिक स्रोतबाट २९ करोड ६३ लाख रुपैया मात्र आम्दानी गर्न सकेको थियो । अहिले सम्पत्ती कर लगायतका कर बढाएर नयाँ आकारको राजस्व संकलन गर्ने लक्ष्य राखेको हो । तर सम्पत्ती कर तिर्न नगरवासीहरुले नमानेको र कर घट्ने आशमा कुरेर बसेकोले पुससम्ममा पनि उत्साहजनक आम्दानी नभएको हो ।
यस्तो छ, ६ महिनाको उपलब्धी
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि संघिय वित्तीय समानिकरण अनुदानबाट ३० करोड १७ लाख प्राप्त गर्ने अनुमान गरेकोमा १५ करोड ८ लाख ५० हजार प्राप्त गरेको छ । यस्तै संघिय ससर्त अनुदानबाट ७२ करोड १७ लाख प्राप्त गर्ने अनुमान गरेकोमा २७ करोड ४५ लाख, संघिय समपुरक अनुदानबाट २ करोड प्राप्त गर्ने अनुमान गरेकोमा १ करोड रुपैया पाएको छ । यस्तै संघिय विशेष अनुदानबाट ३ करोड ७५ लाख पाउने अनुमान गरीएकोमा १ करोड ८७ लाख रुपैया पाएको छ । संघिय राजश्व बाँडफाँडबाट १८ करोड ३ लाख प्राप्त गर्ने अनुमान गरेकोमा ६ करोड १२ लाख रुपैया पाएको छ ।
यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदानबाट २ करोड ७ हजार रुपैयाको अनुमानमा ५० लाख पाएको छ । प्रदेश ससर्त अनुदानबाट १ करोड २३ लाखमध्ये ४५ लाख पाएको छ । यस्तै प्रदेश राजस्व बाँडफाँड (सवारी) बाट २ करोड १३ लाख ९६ हजार प्राप्त गर्ने अनुमान गरेकोमा ४८ लाख रुपैया पाएको छ । प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशनबाट ३० करोड रुपैया पाउने अनुमान गरेकोमा ७ करोड १९ लाख पाएको छ ।
यस्तै नगद मौज्दात परिवर्तनबाट १ करोड र नगर विकास कोषबाट ३ करोड ऋण प्राप्त हुने अनुमान गरेकोमा नगद मौज्दात ५ करोड रहेकोछ । प्रदेश समपुरक अनुदानबाट १ करोड पाउने अनुमान गरेकोमा अहिलेसम्म उक्त रकम पाएको छैन ।