एनपीएलमा सट्टेबाजीः कीर्तिपुरबाट थप तीनजना पक्राउ

न्युजलय २० मङ्सिर २०८१, बिहिबार ०६:१७ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट नै उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

बुधबार ९साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनजना नै भारतीय नागरिक रहेका सीआईबीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारतका सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह छन् ।

प्रहरीले यसअघि गएको सोमबार दुई र मंगलबार दुई गरी चारजनालाई पक्राउ गरेको थियो । उनीहरू चारैजना पनि भारतीय नागरिक हुन् । पक्राउ परेकाहरूले अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको खुलेको सीआईबीले जनाएको छ ।