केटासँग बोलेको भन्दै १४ वर्षीया किशोरी कुट्ने १३ जना किशोरीहरु पक्राउ

न्युजलय १४ बैशाख २०८०, बिहिबार ०८:०३ मा प्रकाशित

विराटनगर । एउटा कुनै स्कुलमा छात्राहरुको समुहले एउटी किशोरीमाथि निरन्तर कुटपिट गरिरहन्छन् । सन्दर्भ हुन्छ, कुनै किशोरसँग बोलेको । भीडले किशोरसँग किन बोलेको भन्दै गाली गर्दैती किशोरीलाई थप्पड प्रहार गरिरहन्छन् । 

जवाफमा किशारी भन्छिन्,  ‘म हैन ऊ आफै बोलेको हो।’ तर भीडले उनलाई कुटीरहन्छ । 

घटना हो, मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माविको । गत वैशाख ६ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया किशोरीलाई सोही स्कुलमा अध्ययनरत माथ्लो कक्षाका छात्राले कुटपिट गरेका थिए ।

यसरी कुटपिटमा उत्रिने १३ जनाको समूहलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेको छ । 

कुटपिटको भिडियो एक किशोरीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटनाबारे खुलेको थियो । छोरीमाथि सामूहिक रूपमा आक्रमण भएपछि पीडित किशोरीकी आमाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘ज्यान मार्ने उद्योग’को जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले पीडित किशोरीलाई कुटपिट गर्ने १३ जनालाई वैशाख ११ गते नियन्त्रणमा लिएको छ। घाइते किशोरीको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।