समाजसेवी केवलमान विष्टको स्मृति दिवसमा ६ जनालाई सम्मान

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ०८:१३ मा प्रकाशित

इटहरी । इटहरीका पुराना बामपन्थी योद्दा केवलमान विष्टको स्मृति दिवसका अवसरमा इटहरीका विभिन्न ६ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ । 


इटहरीका मूर्तिकार टिकाराम पौडेल (शशि), पत्रकार भुमिका पाख्रीन, खेलकुद अगुवा अनुरोध थापा, सङ्गितकर्मी मणिराज गुरुङ, समाजसेवी पदम बहादुर श्रेष्ठ ९भान्जा बाबु० र साहित्यकार ऋतुवर्ण पराजुलीलाई सम्मान गरिएको हो । केवलमान विष्ट स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई दोसल्ला तथा ढाका टोपी र सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको हो । 


नेकपा एसका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश न १ इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रम इटहरीका अग्रज बामपन्थी नेता तथा साहित्यकार, पत्रकार तथा केवलमानका जेठा छोरा रमेश विष्टको सभापतीत्वमा गरिएको थियो । चिया चौतारी क्याफेमा आयोजित कार्यक्रम केशव विष्टले सञ्चालन गरेका थिए । 


केवलमान विष्ट इटहरीको ज्येष्ठ नागरिक समाजका संस्थापक अध्यक्षसमेत थिए । उनी आफ्नो समयमा गरिएका विभिन्न सामाजिक विकास निर्माणका कार्य र सामाजिक अभियानमा समेत नेतृत्वकारी भुमिकामा सक्रिय थिए । उनको स्मृतिमा गतवर्षदेखि स्मृति दिवस मनाउँदै सम्मान गर्न थालिएको हो ।