काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट इटहरीस्थित जनता माविका अध्यक्ष काशीनाथ दंगाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । दंगाल यसअघि सचिव थिए ।
महासंघको वरिष्ठ उपाध्यक्षमा ललितपुरका ज्ञानबहादुर लोप्चन, उपाध्यक्षमा हुम्लाका रामबहादुर टमाटा र सर्लाहीका श्यामसुन्दर महतो, सिन्धुलीकी सीता स्याङताङ चुनिएका छन् । यस्तै कन्चनपुरका वीरेन्द्रराज विष्ट महासचिव चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष दंगालले महासंघलाई अझ सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । देशभरका विद्यालय व्यवस्थापन समितिलाई एकताबद्ध गर्दै सामुदायिक शिक्षाप्रतिको जनविश्वास पुनःस्थापित गर्न सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
सम्मेलनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय अपनत्व, प्रभावकारी विद्यालय व्यवस्थापन र अधिकारसम्पन्न विद्यालय व्यवस्थापन समितिको आवश्यकतामा जोड दिएको छ ।
उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमाले सामुदायिक विद्यालयका अधिकांश शिक्षक तालिमप्राप्त भए पनि अपेक्षित नतिजा आउन नसक्नु व्यवस्थापकीय कमजोरीका कारण भएको बताए। उनले शिक्षकको नियमित उपस्थिति, गृहकार्य परीक्षण, विद्यार्थीको निरन्तर मूल्याङ्कन र जवाफदेहितालाई प्रभावकारी बनाउँदै विद्यालय व्यवस्थापन समितिलाई अधिकारसम्पन्न गभर्निङ बोर्डका रूपमा विकास गर्नुपर्ने धारणा राखे । स्थानीय तहलाई शिक्षक नियुक्ति, स्रोत व्यवस्थापन र नीतिगत निर्णयको अधिकार दिनुपर्ने बताए ।
अभिभावक महासंघ नेपालका पूर्व अध्यक्ष सुप्रभास भण्डारीले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप र माथिल्लो तहबाट हुने नियुक्ति प्रक्रियाले विद्यालय व्यवस्थापन कमजोर बनेको उल्लेख गर्दै सक्षम, संगठित र उत्तरदायी विद्यालय व्यवस्थापन समिति निर्माणमा जोड दिए।
महासंघका संस्थापक अध्यक्ष कृष्ण थापाले राज्यको तदर्थवादी नीतिका कारण विद्यालयहरूले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले महासंघको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए। संस्थापक अध्यक्ष कृष्ण थापा, महासचिव धुव्रराज विष्ट, कोषाध्यक्ष कमला सुवेदी, सदस्य दामोदर न्यौपाने र चुडामणि शर्मालाई सम्मान गरिएको थियो।
सम्मेलनमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, नेपाल सरकारका पूर्वसचिव डा. महाश्रम शर्मा, डा. विष्णु कार्की, शैक्षिक अभियन्ता अभिषेक घिमिरे, शिक्षा पत्रकार समाजका संस्थापक अध्यक्ष प्रकाश सिलवाल तथा देशभरबाट आएका महासंघका केन्द्रीय, प्रदेश, जिल्ला र पालिकास्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।