इटहरी । मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा आमाछोरी सवार स्कुटरलाई ट्रिपरले ठक्कर दिँदा सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
स्कुटरमा सवार इटहरी ८ फुलबारी टोल बस्ने ३९ वर्षीय चौधरीको मृत्यु भएको हो भने छोरी २२ वर्षकी अंशु चौधरी गम्भीर घाइते भएकी छिन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको बताइएको छ ।
को १४ प ५२६ नम्बरको स्कुटरमा चढेर आफन्तकोमा हिडेका आमाछोरीलाई ठक्कर दिएपछि इटहरी चोक दिनभर तनावग्रस्त रह्यो । भीडले कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको ट्रिप्पर तोडफोड गर्नुका साथै प्रहरीमाथिसमेत ढुंगा मुढा प्रहार गरेको थियो । झडपमा ९ जना प्रहरी घाइते भएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
उत्तरबाट दक्षिण जाने क्रममा ट्राफिक लाइटको हरियो बत्ति बलेपछि स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो । घटनाको विषयमा प्रहरीले ड्राइभरलाई नियन्त्रणमा लिएर अनुृसन्धान गरिरहेको छ ।
ट्राफिक लाइट प्रयोगमा आइसकेपछिको इटहरी चोकमा भएको यो दोस्रो दुर्घटना हो । यसअघि पनि मुख्य चोकमै स्कुटरमा सवार एकजना महिलाको दुर्घटनामा ज्यान गएको थियो ।
इटहरीमा ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन सहज भएपनि प्रभावकारी प्रयोग हुन नसक्दा दुर्घटनामा कमी नआएको गुनासो सर्वसाधारणले गरेका छन् ।