धरान । पानीको बन्द बोतलभित्र किरा भेटिएको छ । धरान १५ का गोविन्द घिमिरेले विक्री गर्न पसलमा राखेको पानीको बोतलभित्र किरा भेटिएको हो ।
सिल गरेको कुल ड्रिङ्किङ वाटरको बोतल खोलेर आधा पानी पिएपछि किरा देखेको उनले बताए । उनले आफ्नै पसलमा बेच्न राखेको पानीको बोतलमा किरा भेटेका हुन् ।
घिमिरेले मात्रै होइन्, पसलमा आउने अन्य ग्राहकले पनि कुल ड्रिङकिङ वाटरकै पानी पिउने क्रममा किरा भेटेको बताएका छन् । बोतल भित्र किरा फेला परेपछि त्यहाँका पसल सञ्चालकसहित उपभोक्ताले धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारमलाई खवर गरेका थिए ।
इवारमले बोतलको पानीपनि सचेत भएर पिउन आग्रह गरे । कुल ड्रिकिङ वाटर एभरेष्ट फुड एण्ड वेभरेज कम्पनी प्राली इटहरीले उक्त पानी उत्पादन गरेको हो ।
यता कम्पनिका सञ्चालक जनक बाँस्तोलाले आफूलाई त्यस्तो कुनै गुनासो नआएको बताए । उनले पहिलो पटक यस्तो गुनासो आएको बताउँदै आफूले गम्भीरतापूर्वक जाँच गर्ने बताए ।