सुन्दरहरैंचा । मोरंगको सुन्दरहरैंचामा रहेको नयाँ वृन्दावन गौशालामा गाईको विशाल प्रतिमा स्थापित गरिएको छ । फाइबरको प्रयोग गरेर निर्माण गरिएको गाईको ३५ फिट अग्लो प्रतिमालाई एक तलाको भवनमाथि स्थापित गरिएको हो । उक्त प्रतिमालाई विश्वकै अग्लो गाईको प्रतिमा दावी गरिएको छ ।
स्थानीय जयलक्ष्मी फाइबर उद्योगले उक्त प्रतिमा निर्माण गरेको हो । सुन्दरहरैंचा नगरपालिकाको विशेष सहयोग रहेको गाईको प्रतिमा निर्माणको काम कोरोना महामारीका कारण झण्डै तीन वर्ष लम्बिएको थियो । गाईको प्रतिमा र त्यसभन्दा तलको १२ कोठे एकतले भवन निर्माणको लागि नगरले झण्डै एक करोड रुपैया बजेट विनियोजन गरेको नयाँ वृन्दावन गौशालाको व्यवस्थापन गरिरहेको राधेश्याम सेवा ट्रस्टका संरक्षक दीनबन्धु शास्त्रीले बताए ।
सो स्थानमा सिमेन्ट र तामाको प्रतिमा बनाउने योजना बनाइएपनि ठूलो लगानी लाग्ने भएकोले फाइबरको बनाइएको समितिका सदस्य नारायण श्रेष्ठले जानकारी दिए ।
गाईको विशाल प्रतिमाले यस क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन विकास गर्ने अपेक्षा गरिएको शास्त्रीले बताए । ‘नयाँ वृन्दावन गौशाला बनिसकेपछि नै पनि यस क्षेत्रमा आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकास भएको थियो भने यो गाईका कारण सुन्दरहरैंचा र इटहरी क्षेत्रकै पर्यटकीय र धार्मिक क्षेत्रको विकास हुने विश्वास गरेको छु,’ उनले भने ।
बुढी खोला किनारमा सुनसरीको इटहरी उपमहानगरपालिकासँगै टाँसिएको उक्त नयाँ वृन्दावन गौशालामा यसअघि नै प्रदेशकै सबैभन्दा ठूलो राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । विभिन्न गोत्रहरुका ऋषिको नेपालकै पहिलो खुला संग्रहालय रहेको उक्त स्थानमा विभिन्न देवीदेवताका मन्दिरहरु, गौशाला, वाटर फाउन्टेन, गुरुकुल निर्माण भइसकेको छ । अहिले आश्रम निर्माणाधिन छ । अहिले उक्त क्षेत्र सुन्दरहरैंचा र इटहरीकै धार्मिक क्षेत्र बनेको छ । गाईको ठूलो प्रतिमा हेर्नकै लागि पनि नेपाल र भारतबाट आगन्तुक, भक्तजनहरु आउने र त्यसले सो क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा अझ ठूलो सहयोग गर्ने विश्वास शास्त्रीले लिएका छन् ।