इटहरी । इटहरीका दुई बाल गायिकाहरु टेनिसा परियार र सिम्ला धिताल यतिखेर द भ्वाइस किड्स नामक रियालिटी शोको टप २४ मा पुगेका छन् । उनीहरुको गायकीले जजहरुका साथै दर्शकहरुको समेत मन जितिरहेको छ । तर टेनिसाको कथा भिन्न छ ।
ब्लाइण्ड अडिसनमा टेनिसाको गीतमा चारै जज घुमेका थिए भने उनले पछिल्लो पटक गाएको सम्हालेर राख बोलको गीतले पनि तारिफ पाएको थियो । तारिफ र प्रसंसा अनि उत्कृष्ठ प्रस्तुती रहँदा रहँदै पनि टेनिसालाई अघि बढ्न गाह्रो देखिएको छ । उनको घरको आर्थिक अवस्था उनको अनुकुल छैन ।
टेनिसाका बुवा सन्दीप मोतेको पेशा सिलाइकटाइ हो । इटहरीको मुख्य चोकमा राजमार्ग नजिक एउटा सिलाइ मेसिन लिएर जिन्सको पेन्ट फिटिङ गर्ने उनको काम हो । इटहरीमा कोठा भाडामा लिएर बसेका सन्दीप आफै पनि राम्रो गीत गाउँछन् । तर परिवारको जिम्मेवारीले उनलाई गीतबाट छुटाएर पेशामै लागिपर्न बाध्य बनाएको छ । आफूले गाउन नपाएपनि छोरीलाई भने प्रतिष्पर्धा जितेर गायनमा अघि बढेको हेर्न चाहन्छन् । तर उनको चाहनामा आर्थिक अवस्था बाधक बनेको छ ।
किनकी प्रतिष्पर्धा जित्न मन जितेर मात्र हुँदैन, मत पनि जित्नुपर्छ । ‘पैसा पनि हुनुपर्ने रहेछ, खट्नुपनि पर्ने रहेछ,’ उनी भन्छन्, ‘पैसा पनि छैन, फेरी भोट माग्दै हिड्दा यही काम पनि बन्द हुन्छ र पैसाको समस्या हुन्छ ।’
लुगा सिलाएर कमाएको पैसाले मुस्किलले घरखर्च र छोरीको पढाइ खर्च चल्छ । काठमाडौमा अहिले टेनिसासँग उनकी आमा र सानो भाई होटलमा बसेर कार्यक्रम धाइरहेका छन् । सादा खाना खाँदा मात्र पनि तीन जनाको लागि दैनिक १ हजार पाँच सय खर्च हुन्छ । परियार परिवारलाई त्यही खर्च जुटाउन पनि गाह्रो भइरहेको छ ।
‘गायनमा सम्भावना भएको प्रतिभा आर्थिक अवस्थाकै कारण पछि पर्नु भनेको कलाको अवमूल्यन हो,’ इटहरीस्थित संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी भन्छन्, ‘त्यसैले उनलाई आर्थिक सहयोगका लागि अनुरोध गरेका छौं ।’ उनले इटहरीका दुवै बाल गायन प्रतिभालाई भोट दिएर जिताउन आग्रह गरेका छन् । साथै टेनिसाको परिवारलाई काठमाडौ बसेर कार्यक्रममा सहभागि हुन पुग्ने गरी आर्थिक सहयोग गर्न पनि आग्रह गरेका छन् ।
टेनिसाको सहयोगका लागि सोचेजति सहयोग जुट्न सकेको छैन । दुई दिन काम नगर्दा के खाने भन्ने समस्याका सन्दीपले एक तरिकाले हरेस खाइसके । तर अर्को तरिकाले इटहरीवासीहरुसँग अनि देश तथा विदेशभरका संगीतप्रेमीहरुसँग आशावादी पनि छन् । ‘सबैको सहयोग जुट्छ भन्नेमा आशावादी छु,’ उनी भन्छन् ।