‘जवान’ को टिजर सार्वजनिक, धमाकेदार एक्सन र दोहोरो भूमिकामा शाहरुख

न्युजलय २५ असार २०८०, सोमबार १२:५६ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान एट्ली निर्देशित फिल्म ‘जवान’मार्फत दर्शकमाझ आउँदैछन् । यो प्रतीक्षित फिल्मको सोमबार निर्माताले प्रिभ्यु टिजर सार्वजनिक गरेका छन् ।

दुई मिनेट १२ सेकेण्ड लामो टिजरमा धमाकेदार एक्सन पस्किइएको छ । फिल्मको पोस्टरले यसअघि नै चर्चा बटुलिसकेको थियो । पोस्टरमा शाहरुख पूर्णतया ब्यान्डेजले बेरेको देखिएका छन् । अब प्रिभ्युले चर्चा बटुलेको छ ।

फिल्मको प्रिभ्युमा शाहरुखलाई सशक्त संवाद डेलिभरी गरेको रुपमा देख्न सकिन्छ । फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा छिन् ।

‘जवान’को प्रिभ्युमा उनी रातो साडीमा एक्सन गरिरहेको देखिएकी छिन् । जहाँ नयनतारा प्रहरी अफिसरको भूमिकामा छिन् । विजय सेतुपातीको विशेष भूमिका छ ।

‘जवान’मा शाहरुखको दोहोरो भूमिका छ । करिब २२० करोड भारु बजेटमा बनेको ‘जवान’ मूलतः हिन्दीमा बनेको भए पनि भारतभर अन्य भाषामा पनि रिलिज हुनेछ । फिल्म श्रीकृष्ण जन्माष्टमीको दिन भदौ २१ गते रिलिज हुँदैछ ।