काठमाडौं । इटहरीका कलाकार टीकाराम पौडेल (शशिकिरण) ले यस वर्ष समसामयिक मूर्तिकला विधामा विशेष पुरस्कार प्राप्त गरेका छन् । जेठ १५ गतेदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफां) ले उनलाई पुरस्कृत गरिएको हो ।
उनले पुरस्कारसँगै नगद २५ हजार रुपैयासमेत पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले पुरस्कार प्रदान गरेका थिए । शशिकिरण लामो समयदेखि मूर्तिकला, चित्रकला लगायतका सृजनाका काममा सक्रिय छन् ।
पौडेलसँगै मीना कायस्थले पनि पुरस्कार पाएकी छिन् भने सोही विधामा राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरिएको छ । यस्तै यस वर्ष जनही १ लाख रुपैया राशीको अरनिको राष्ट्रिय ललितकला सम्मान अग्रज कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिएको छ ।
समसामयिक चित्रकला, परम्परागत चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधा, भावभङ्गी कला, हस्तकला विधा, लोककला विधा, परम्परागत मूर्तिकला विधाहरुमा एक जनालाई राष्ट्रिय र अन्य दुई दुई जनालाई विशेष पुरस्कार प्रदान गरिएको थियो । यसैगरी दुई जना पत्रकारहरु नारायण ढुङ्गाना र नगेन्द्रप्रसाद पौडेललाईसमेत सम्मान गरिएको थियो ।
ललितकला प्रादेशिक पुरस्कारसमेत प्रत्येक प्रदेशबाट १–१ जनालाई प्रदान गरिएको थियो ।
प्रतिष्ठानले ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गरेको हो । प्रदर्शनी १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुनेछ । छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र प्रदर्शनीमा छन् ।