इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी हुँदा ३५ लाख बढीको क्षति

न्युजलय ११ चैत २०८२, बुधबार ०३:१३ मा प्रकाशित

इटहरी । इटहरीस्थित पूर्वाञ्चल आइसक्रिम पार्लर एण्ड कफी सपमा बुधबार आगलागी हुँदा करिब ३५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ।

इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेको भान्सा कोठाबाट आगो सुरु भएको प्रहरीले जनाएको छ। मर्मत गर्ने क्रममा निस्किएको आगोको झिल्को उछिटिएर भान्सामा सल्किँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

आगो नियन्त्रणका लागि सुनसरीका धरान, दुहवी, रामधुनी, इनरुवा तथा विराटनगर र सुन्दरहरैंचा लगायतका स्थानीय तहका दमकल परिचालन गरिएको थियो। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो।