सुन्दरहरैँचामा एक युवा मृत फेला

न्युजलय २८ साउन २०८०, आइतबार ०३:१० मा प्रकाशित

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा आइतबार दिउँसो एक जना भारतीय युवा मृत फेला परेका छन्। 

भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो। खानको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। 

इलाका प्रहरी कार्यालय पथरीको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ। निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो। 

भारतीय नागरिक खानले भाँडावर्तन बनाउने फ्याक्ट्रीमा काम गर्ने गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ। हत्या गरेपछि शवलाई पैनीमा फालिदिएको हुनसक्ने आशंकामा विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।