पल शाहले हर्क साम्पाङलाई दिए गैंती बेल्चा कोसेली

न्युजलय १४ बैशाख २०८०, बिहिबार ०१:५२ मा प्रकाशित

धरान। अभिनेता पल शाहले धरानका मेयर हर्क साम्पाङलाई भेटेर गैंती–बेल्चाजस्ता औजार कोसेली दिएका छन् ।  

बुधबार बेलुका उनले इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा मनोरञ्जन प्रदान गरेका थिए ।

उक्त महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरेको र मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताए । औजार कोसेली दिने क्रममा अहिले हलमा चलिरहेको फिल्म ‘जारी’की कलाकार रेखा लिम्बू पनि उपस्थित थिइन् ।

‘हर्क सरको सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुसी लागेको छ । महोत्सवबाट पाएको पारिश्रमिकको केही हिस्सा सहयोग गरेको हुँ,’ उनले भने । औजार ग्रहण गर्दै मेयर साम्पाङले पनि सबै नेपालीभाषीलाई यो उपहारले सन्देश दिएको बताए ।

पलले पनि आफूले कामबाट प्राप्त गर्ने पारिश्रमिकको निश्चित प्रतिशत समाजसेवामा प्रदान गर्ने बताए ।