डिस्चार्ज भइन् कोशी प्रदेशकी उपसभामुख, भएको के हो ?

न्युजलय ८ भदौ २०८०, शुक्रबार ०४:४१ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । तीन दिन गंगालाल हृदयरोग केन्द्रमा उपचारपछि डिस्चार्ज भएकी हुन् । 


कोशी प्रदेशमा सरकारले विश्वासको मत लिने अघिल्लो दिन दनुवार आफूले बोलाएको बैठक छाडेर काठमाडौं गएकी थिइन् । सत्तारुढ दलहरूले उनी बैठक छल्ने नियतले भागेको आरोप लगाइरहँदा उनी अस्पताल भर्ना भएकी थिइन् । 


उपसभामुख दनुवारलाई पहिल्यैबाट थाइराइड र प्रेसरको समस्या रहेको बताइएको छ ।


उपसभामुखलाई भदौ ३ गतेदेखि अलिक गाह्रो भएको र स्थानीय चिकित्सकहरूसँगको परामर्शका आधारमा आकस्मिक काठमाडौ पुगेको बताइएको छ । सुरुमा आकस्मिक कक्षमा भर्ना भएकी उनलाई क्याबिनमा सारिएको थियो । उनको एनजिओग्राफी गरिएको छ । 


अहिले दनुवारको स्वास्थ्य अवस्थामा सुधार आएको छ । तर, चिकित्सकले १ हप्तापछि फेरि फलोअपमा आउन भनेका छन् । उनीहरूले ‘स्ट्रेस नलिन’ सुझाव दिएका छन् ।