महिलालाई दुर्व्यवहार गरेको आरोपमा यातायात विराटनगरका चिकित्सक पक्राउ

न्युजलय २३ साउन २०८०, मङ्गलबार १०:०२ मा प्रकाशित

विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सकलाई महिलालाई गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

मादक पदार्थ सेवन गरी रातको समयमा महिलाको घरमा पुगेर होहल्ला गर्दै दुर्व्यवहार गरेको आरोपमा सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डा. महतोविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ। पीडितले दिएको किटानी जाहेरीका आधारमा चिकित्सकमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। 

महतोलाई प्रहरीले आइतबार राति विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको हो। ढोका बन्द रहेको अवस्थामा घरमा आएर अपशब्द प्रयोग गर्दै महिलालाई गालीगलौज र दुव्र्यवहार गरेको आरोप महतोमाथि लागेको छ। 

महतो यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक हुन्। उनले कार्यालयमा सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए।