किमाथांकामा बाक्लो हिमपात, जनजीवन कष्टकर

न्युजलय ११ पुस २०७८, आइतबार ०७:३४ मा प्रकाशित

सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ ।

 

जिल्लाको उत्तरीक्षेत्रको भोटखोला गाउँपालिकाको किमाथांका र दक्षिणी क्षेत्रमा तिनजुरे–मिल्के–जलजले (टीएमजे) मा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो । गत शुक्रबार बेलुकीदेखि किमाथांका क्षेत्रमा हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको किमाथांका प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) टिकाराम राईले बताए ।


बाक्लो हिउँका कारण किमाथांकाका गाउँबस्ती नै छोपिएको छ । जसका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । चिसोका कारण घरभित्र नै आगो तापेर बस्ने गरेको र पशुचौपायालाई घाँसपानी दिनसमेत समस्या भइरहेको स्थानीयवासी बताउँछन् ।     


किमाथांका गाउँ र माथिका डाँडाकाँडा क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको किमाथांका प्रहरी चौकीका इन्चार्ज राईको भनाइ छ । बाक्लो हिमपातका कारण प्रहरी चौकीको भवनसमेत हिउँले ढाकेको उनले बताए । 


हिमपातपछि जाडो बढ्दा बालबालिका र वृद्धवृद्धा बढी समस्यामा छन् । हिउँ परिरहेकाले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल टीएमजे क्षेत्र हिउँले ढाकेको छ । तीनजुरे, पाँचपोखरी, गुफापोखरी, मंगलबारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ परिरहेकाले सडक सञ्चालनमा अवरोध आएको गुफपोखरीका हरि खनालले बताए ।