काठमाडौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।
जेनजीले काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर डेढ दर्जन बढीको मृत्यु भएपछि उनको राजिनामा मागिएको थियो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल राजिनामा नदिने जनाएका छन् । उनले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताए ।
मृतकको परिवारलाई राहत दिने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने विज्ञप्तीमार्फत् जनाएका छन् ।
उनले जेनजीका मागहरु सकारात्मक भएपनि घुसपैठ भएपछि तोडफोड र आगजनी भएको बताए । उनले सरकारी संरचना जोगाउने क्रममा अप्रिय घटना भएको समेत बताए ।
आयोजक स्वयम्ले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरूले तोडफोड र आगजनी गरेको उनको भनाइ छ ।
सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एकवर्ष अघिदेखि नै यसलाई नियमन गर्न कम्पनीहरूलाई सूचिकरणका लागि पटक–पटक आग्रह गरेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि तत्कालका लागि बन्द गरिएको समेत बताएका छन् ।