सुन्दरहरैँचामा टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै राखेर प्रदर्शन

न्युजलय १२ बैशाख २०८२, शुक्रबार ०४:१३ मा प्रकाशित

इटहरी । मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–१ को हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनालगत्तै भेला भएको स्थानीयले अहिले विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध बनाएर प्रदर्शन गरेका छन् ।

जसकारण अहिले सो क्षेत्रमा तनाव उत्पन्न भएको छ । सडकमै शव राखेर प्रदर्शनमा उत्रिएको भीडले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।