सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने

न्युजलय २५ पुस २०८२, शुक्रबार १२:५५ मा प्रकाशित

इनरुवा । आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । 

निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । 

निर्वाचन प्रहरी भर्ना गर्नका लागि समितिले जारी गरेको सूचना अनुसार जिल्लामा नेपाल प्रहरी तर्फ तीन हजार १४९ र  सशस्त्र प्रहरी बल तर्फ ४२९ जना जना गरि कुल तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।

समितिले पुस २५ शुक्रबारदेखि माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल हेडक्याटर नम्बर ४ बाहिनि इनरुवामा आवेदन दिन पाइनेछ । निर्वाचन प्रहरी हुनका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।

त्यस्तै शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च, तौल ४२ के.जी.भएको, महिलाको हकमा गर्भवती नभएको÷नरहेको हुनुपर्ने बताइएको छ । 

निर्वाचन प्रहरी छनोट गर्नका लागि प्राथमिकताका आधारहरु राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षक भएका हुनुपर्नेछ । 

सुनसरीमा चार निर्वाचन क्षेत्र रहेको छ भने यस जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेको छ । जिल्लामा १६७ मतदान स्थल र ६२४ मतदान केन्द्र कायम गरिएको छ ।