सुनसरीमा सडक स्तरोन्नती शिलान्यास गर्दै सांसद कार्कीले भने, ‘सरकार पाँच वर्ष नै टिक्छ'

बाबुराम कार्की १८ बैशाख २०८०, सोमबार ०३:२२ मा प्रकाशित

प्रकाशपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । 

सुनसरीको इनरुवामा सोमबार देवानगञ्ज ठुलो मदरसाबाट बबिया हुदै हनुमान चौक जाने सडक स्तरोन्नती शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री कार्कीले जनताको समृद्धि र विकासको चाहना पुरा गर्ने गरी सरकार अघि बढ्ने बताए । 

उनले कोशी प्रदेश सरकार परिवर्तनको तयारी भैरहेकोसमेत जानकारी दिए । उनले दुवै तहको सरकारले पाँच वर्षसम्म निरन्तरता पाउने ठोकुवा गरे । 

आफ्नो निर्वाचन क्षेत्र भ्रमणमा रहेका मन्त्री कार्कीले भारतीय सीमावर्तीक्षेत्र देवानगञ्ज गाउँपालिकाबाट सदरमुकाम इनरुवा जोड्ने २३ किलोमिटर सडकमध्ये १० किलोमिटर सडक खण्डको स्तरोन्नतीको शिलान्यास गरेका हुन् । कूल ३२ करोड ८३ लाखमा महाबीर इञ्जिनियरिंग एण्ड कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडकको स्तरउन्नती तीन वर्षभित्र गरिसक्ने बताइएको छ ।

उनले बाटो निर्माण चाँडो सक्नका लागि आफ्नो तर्फबाट भुमिका निर्वाह गर्ने आश्वासन दिएका छन् । उनले निर्वाचन क्षेत्रमा सडक सञ्जाललाई प्राथमिकता दिएको र ग्रामिण विकासमा आफू केन्द्रित भएको बताए । उनले शिक्षा, स्वास्थ्य, सिँचाइ तथा कृषि र उद्योगको विकासलाईसमेत सुनसरीमा प्राथमिकता दिने बताएका छन् ।

मन्त्री कार्की यतिखेर आफ्नो निर्वाचन क्षेत्रको भ्रमणमा छन् । उनी आफ्नो निर्वाचन क्षेत्र प्रायः पुगिरहन्छन् । स्थानीयहरुसँग बढीभन्दा बढी अन्तक्र्रिया गर्दै गुनासाहरु सुन्ने र समाधानको लागि केन्द्र सरकारसँग पहल गर्ने गरेका छन् । उनले आफूलाई धेरैले प्रदेशमा सम्पर्क कार्यालय बनाउनुपर्यो भन्ने सल्लाह दिएपनि आफूले सुन्सरी क्षेत्र नं. ४ क र ख बाट प्रदेश सांसदहरु हाजी इसराइल मन्सुरी र सदानन्द मण्डललाई नै प्रदेश सम्पर्क व्यक्ति मानेको बताउँदै गुनासाहरुलाई सुनेर समाधान गर्न आफूहरु सधैं तयार रहेको बताएका छन् ।