आयात प्रतिबन्ध दुई महिना लम्बियो

न्युजलय ३० असोज २०७९, आइतबार ०२:५६ मा प्रकाशित

काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले लगाउँदै आएको आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएको छ । सरकारले गत वैशाख १४ गतेदेखि लगाएको आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएर मंसिर मसान्तसम्म पुर्‍याएको हो ।


असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई आगामी मंसिर मसान्तसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

यसअघि सरकारले थप सीमा तोकेर असार मसान्तसम्मका र पछि थप गरेर भदौ १४ हुँदै थप असोज २८ सम्म कायम गरिएको थियो ।