धरान । धरानमा वडाध्यक्षहरु र मेयरबिच विवाद बढेपनि उपमेयर अइन्द्रबिक्रम बेघाले खासै चासो देखाएका थिएनन् । समस्या समाधानमा भुमिका नखेलेको भन्दै उनको आलोचनासमेत बढ्दो थियो ।
बैठकमै पुगेर मेयर हर्क साम्पाङका समर्थकले वडा नं. १७ का वडाध्यक्षलाई आक्रमण गर्ने धम्की दिएपछि तीन जना पक्राउ परेपछि भने उपमेयर बेघाले मौनता तोडेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै वडाध्यक्षहरुको जायज माग पुरा गर्न मेयरसँग आग्रह गरेका छन् ।
धरान नगर प्रमुख र वडा अध्यक्षहरुको विवादबाट उत्पन्न असमझदारीका कारण धरान अनिर्णयको बन्दी हुँदै गईरहेको र एक पछि अर्को समस्या र द्बन्द्ब बढ्दै गइरहँदा नगर प्रमुखले अभिभावकत्वको भूमिका निर्वाह गरी वार्ता, संवाद, सहकार्य र सहमतिको माध्यमबाट सबै खालका समस्याहरुको समाधान गर्दै अगाडि बढ्नु पर्ने उनले बताएका छन् ।
उनले वडा अध्यक्ष ज्यूहरुले राखेका जायज मागहरुलार्ई सम्बोधन गरी कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्न मेयरलाई सुझाव दिएका छन् । उनले लेखेका छन्, यसमा ढिला भए परिस्थिति जटिल बन्दै जाने देखिन्छ । यसको ज्वलन्त उदाहरणको रुपमा धरान वडा नं. १७ को घटनालार्ई लिन सकिन्छ ।’ उनले उक्त घटनालाई दुःखद् र खेदजनक समेत भनेका छन् ।
अहिलेको धरानको परिस्थितिमा यस्ता घटनामा संलग्न हुनेहरुलार्ई कानुनी कारबाहि गरी निरुत्साहित गर्दै समग्र धरानको विकास र समृद्धिका लागि सबै जनाको एकता र सहकार्य जरुरी रहेकोले सबैको भूमिकालार्ई जोड्दै हालको असहज परिस्थितिलार्ई व्यवस्थापन गरि निकास दिन नगर प्रमुखलार्ई अनुरोध गरेका छन् ।
सोमबार पक्राउ परेका तीन जना आक्रमणकारीहरुलाई प्रहरीले इलाका प्रहरी कार्यालयमा राखेको छ । हर्क साम्पाङका समर्थकहरुले पक्राउ परेकाहरुलाई छाड्न र वडाध्यक्षका समर्थकहरुले कारवाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय अगाडी धर्ना दिएका थिए । दुवै पक्ष आमनेसामने हुँदा मुठभेडको स्थिती सृजना हुन सक्ने भन्दै प्रहरी सतर्क बनेको थियो ।