मोरङमा एम्बुलेन्सभित्र ५ सय २१ किलो गाँजा

न्युजलय १५ पुस २०८२, मङ्गलबार ०७:१० मा प्रकाशित

विराटनगर । मोरङमा एम्बुलेन्सको प्रयोग गरेर गाँजा तस्करी भएको पाइएको छ ।

मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले एम्बुलेन्स प्रयोग गरी ओसारपसार गरिएको ५ सय २१ किलो गाँजा बरामद गरिएको हो ।

प्रहरीले गाजासँगै घटनास्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा केराबारी गाउँपालिका–५ मा चेकिङमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकी भित्र सवार व्यक्ति फरार हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

भाग्न खोज्ने धनकुटा सहिदभूमि–६ का निश्चल राई र सागुरिगढी–२ का खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिइएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार एम्बुलेन्सभित्र १६ वटा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।

बरामद गाँजा र एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।