काठमाडौँ । संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या गरेको रहस्य खुलेको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा प्रहरीले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई सार्वजनिक गरेको हो।
खाँदबारी नगरपालिका– ९ तुम्लिङटारमा ६ माघ शनिबार स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेर राई सोही दिन नै तुम्लिङटारदेखि भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
उनका अनुसार अरुण तेस्रोमा ज्यालामजदुरी काम गर्ने राई श्रीमतीसहित तुम्लिङटारमा कोठा भाडा लिई बसिरहेका थिए।
घटना शंकास्पद भएपछि कोशी प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर ल्याई घटनाको अनुसन्धान गरिएको थियो। राईलाई ११ माघ धरान उपमहानगरपालिका– २ देसीलाइनको एक गेस्टहाउसबाट दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राईले वृद्धाको हत्या गरी उनको साथमा रहेको आधा तोलाको सुनको रिङ लुटेर भागेका थिए। सो रिङ राईले धनकुटा पाख्रीबास नगरपालिका– ४ बुद्धचौकमा रूपकला ज्वलर्सका सञ्चालक धनमाया विश्वकर्मालाई ४७ हजार रुपैयाँ बेचेको प्रहरीले जनाएको छ।
धनमायाले सोही गहना विवेक ज्वेलरीका देवबहादुर विश्वकर्मालाई ५८ हजार बिक्री गरेको खुलेको छ। उनीहरू दुवैजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राईविरुद्ध कर्तव्य ज्यान र चोकी डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।