सुनसरी । सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवक मृत फेला परेका छन् ।
आफन्तको श्राद्धमा जाने कममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएकामध्ये झापाको दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता रहेका दमक–९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लावारी–७ का १८ वर्षीय राज गुरागाईको खोजी भइरहेको छ ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती युवकहरू आफन्तको श्राद्ध गरिएको स्थानबाट नुहाउनका लागि कोशी किनारमा गएका थिए ।