सुनसरी । असार शुक्ल पूर्णिमाको दिन मनाइने गुरु पूर्णिमा आज विशेष गुरुको सेवा पुजा र गुरुलाई सम्झेर मनाइएको छ ।
हिन्दु सनातन धर्म परम्परा अनुसार महाभारत, श्रीमद्भागवत, अठार पुराण लगायतका रचयिता वेदव्यासको जन्म जयन्तीलाई गुरु पूर्णिमाका रुपमा मनाउने गरीएको छ ।
शैक्षिक, खेलकुद, सङ्गीत, चित्रकला, कलाकारीता, योग ध्यान र व्यवसायिक क्षेत्रका मार्गदर्शकहरुलाई आजको दिन विशेष सम्झेर वा मिष्ठान्न भोजन गराएर मनाइदै आएको छ ।
सुनसरीको बराहक्षेत्र नगरमा संचालित जीवन विज्ञान प्रयोगशाला हरुमा पनि गुरु पूर्णिमाको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्ड नं. १० को प्रकाशपुर केन्द्रमा भेला भएका योग साधकहरुले गुरु बन्दना, महिमा र गुरुलाई स्वागत सम्मान र उपहार दिएर मनाएको योग साधक रामप्रकाश कोइरालाले बताए ।
प्रकाशपुर केन्द्रको प्रयोगशालामा दैनिक योग अभ्यास गराउने कृष्ण बस्नेतलाई वडा अध्यक्ष तेजबहादुर गुरुङ्गले दोसल्ला र उपहार दिएर सम्मान गरेका थिए । वडा कार्यालयको आयोजनामा संचालन भएको ७ दिने शिविर केन्द्रको रुपमा परिणत भएर ४ हप्ता देखि नियमित संचालन हुँदै आएको छ ।
कार्यक्रममा वडाध्यक्ष गुरुङ्गले भने ‘योगले शाारीरिक रुपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक चेतना जगाउने देखि लिएर यसको धेरै महत्व रहेकाले नियमित योग गर्न आवश्यक छ ।’
बराहक्षेत्रनगरको कालाबन्जार, तिनकुने, नडाहा, चतरा, बाङ्गे, चक्रघटी, शिवालय, कौवाखोज, पुला, प्रकाशपुरलगायतका स्थानमा रहेका योग केन्द्रहरुमा पनि गरु पूर्णिमा मानाइएको बराहक्षेत्रनगर संयोजक पदम विष्टले जानकारी दिए ।
बराक्षेत्रनगरमा ५ वर्षदेखि जीवन विज्ञान प्रयोगशाला संचालन हुदै आएको छ । नगर क्षेत्रमा १५ महिला सहित १६ पुरुष प्रशिक्षक रहेका छन् । आठ सयभन्दा बढीले दैनिक योग ध्यान गर्दै आएका छन् ।