जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

न्युजलय १६ साउन २०८०, मङ्गलबार १२:५५ मा प्रकाशित

 दमक । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा ६ महिना कैद फैसला भई फरार रहेका जिल्ला झापा मेचीनगर –१० बस्ने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

वि.सं.२०७० साल असार १३ गते ६ महिना कैद फैसला सुनाएका फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार पठाइएको बताइएको छ ।

यसैगरी, अदालतको मिति २०७२ साल असार १ गतेको फैसला अनुसार सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपियाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका –४ बस्ने सुसन चुडाललाई पनि प्रहरीले पक्राउ गरेर कारागार पठाइएको छ ।

प्रहरीका अनुसार तीन वर्षअघि बालयौन दुरुपयोग मुद्दामा १ वर्ष कैद, तथा प्रतिवादीले पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाई भराई दिनु पर्ने फैसला भएपछि फरार रहेका मेचीनगर नगरपालिका –९ का नाम नखुलाइएका अर्का व्यक्तिलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।