काठमाडौँ । मुलुकभरको घरजग्गा कारोबार एक वर्षमा आधा घटेको छ । भूमि व्यवस्थापन विभागको तथ्याङ्कअनुसार गत वर्षको कात्तिकमा भन्दा यस वर्ष घरजग्गाको लिखत पारितलगायतका कारोबार र त्यसबाट प्राप्त हुने राजस्व आधा घटेको हो ।
विभागका अनुसार कात्तिकमा देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ७६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ। जबकि अघिल्लो कात्तिकमा यस्तो रकम पाँच अर्ब ७० करोड रुपियाँ थियो । गत कात्तिकमा ५० हजार ८३ लिखत पारित भएकोमा यस वर्ष सोही महिनामा २७ हजार ९३९ वटा मात्र लिखत पारित भएका छन्।
घरजग्गा कारोबारलाई राष्ट्र बैङ्कले निरुत्साहित गर्दै लगेकाले घरजग्गामा बैङ्क तथा वित्तीय क्षेत्रले लगानी विस्तार गर्न सकेका छैनन्। यसबाहेक स्थानीय तहले जग्गा वर्गीकरण गर्न चासो नदेखाउँदा पनि नयाँ कित्ताकाट अवरुद्ध हुँदै आएको छ। सरकारले भूउपयोग नियमावली कार्यान्वयनमा ल्याउँदै स्थानीय तहमातहत भूउपयोग परिषद्मार्पmत जग्गालाई विभिन्न १० वर्गमा वर्गीकरण गरेर मात्रै कित्ताकाट खुलाउन अनुमति दिएको छ तर स्थानीय निकायले सो कार्य समयमै सम्पन्न नगर्दा जग्गा कारोबारमा मन्दी आएको हो।