इटहरी । बिमा विना नै सिटी सफारी नवीकरण गर्न माग राख्दै सुनसरीको इटहरीमा प्रदर्शन गरिएको छ ।
मंगलबार सिटी सफारी चालकहरुले हलगडा स्थित यातायात व्यवस्था कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।
सफारी बीमा गरेर पनि बीमा बापतको सेवा सुविधा उपलब्ध नगराएको भन्दै बिना बिमा सिटी सफारी नवीकरण गर्न उनीहरुले माग राखेका छन् । त्यस्तै उनीहरुले नगरपालिकाले सफारी नविकरणका लागि बसाइसराई अनिवार्य गरेकोमा पनि विरोध जनाएका छन् ।
उनीहरुले नेपाली नागरिक भएपछि देशको जुनसुकै कुनामा काम गरी खान पाउनुपर्ने माग गरेका छन् । ‘भारतीयहरु आएर काम गर्दा हुने, हामी नेपालीसँग बसाइसराइ खोज्ने ?’ एक चालकले प्रश्न गरे, 'नेपाली नागरिक भएपछि नेपालको जुनसुकै कुनामा काम गर्न पाउनुपर्छ ।'
यातायात व्यवस्था कार्यलयमा एक साताभित्र समस्या समाधान गर्ने सहमति भएको र तीन दिनभित्र वार्तामा नबोलाए आन्दोलनमा जाने सिटी सफारी व्यवसायी संघको चेतावनी रहेको छ ।
प्रदेश सरकारले ई रिक्सा व्यवस्थापन नगरहरूले आफैले व्यवस्थित गर्न अनुमति दिएपछि इटहरी उपमहानगरले आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको थियो । जसअनुसार इटहरीमा बस्नेहरुलाई मात्र सफारी सञ्चालनको अनुमति दिने प्रावधान ल्याएपछि अन्यत्रबाट आएर सफारी चलाउनेहरु आन्दोलित भएका हुन् ।