निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु, ३ जना बेहोस

न्युजलय १५ पुस २०७८, बिहिबार १०:३६ मा प्रकाशित

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । 

क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार(आज) बिहान मृत फेला परेका हुन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चिसोबाट बच्‍न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए ।

आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनका ३ महिनाको छोरा इप्सन भट्टराई, सासु ४३ वर्षीया कोकिला भटटराई, धर्मप्रसादकी जेठानी दिदी नाता पर्ने कोली भट्टराईको मृत्यु भएको हो ।

बेहोस अवस्थामा रहेका नरेन्द्रप्रसाद भट्टराईसहित अन्य ३ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भट्टराईका आफन्तहरु आएका थिए । उनीहरु एउटै कोठामा सुतेका थिए ।